
काठमाडौं, चैत २८ । सरकारी कर्मचारीहरु काम छोडेर नाराबाजीमा उत्रिएपछि आइतबार सिंहदरबार तनावग्रस्त बन्यो ।
आगामी वैशाख १० गतेका लागि तय गरिएको आधिकारिक ट्रेड युनियनको निर्वाचनको विषयलाई लिएर असन्तुष्ट कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालय परिसरमा धर्ना र नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
एकीकृत माओवादीसम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा धर्ना र नाराबाजी भएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेसम्बद्ध कर्मचारीसँगमात्र परामर्श गरेर निर्वाचन कार्यक्रम अगाडि बढाएको विरोधमा धर्नामा बस्नुपरेको आन्दोलनकारी कर्मचारीहरुको दाबी छ ।
धर्ना र नाराबाजीकाक्रममा कर्मचारीहरुले प्रमुख निर्वाचन अधिकृतको कार्यालयका झ्यालका सिसा फुटाएका छन् भने प्रहरीले १० जना कर्मचारीलाई पक्राउ गरेको छ ।
त्यसक्रममा प्रहरीले फोटो खिचेको निहुँमा पत्रकार कविन अधिकारीलाई कुटपिट गरेको थियो ।
नेपाल पत्रकार महासंघले पत्रकार अधिकारीमाथि भएको कुटपिटको निन्दा गर्दै पत्रकारमाथि हुने कुनैपनि प्रकारका आक्रमण सैह्य नहुने बताएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेसी निजामति कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले २० प्रतिशत ‘थ्रेसहोल्ड’ खारेज गरिनुपर्ने, समावेशी र समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने माग गर्दै ६ दिन पहिले निर्वाचन अधिकृतको कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको थियो ।
प्रतिक्रिया दिनुहोस्