सन्डरल्याण्डलाई हराउँदै लेष्टर सिटी उपाधि नजिक • Image Khabar Image Khabar


सन्डरल्याण्डलाई हराउँदै लेष्टर सिटी उपाधि नजिक


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ००:३३

सन्डरल्याण्डलाई हराउँदै लेष्टर सिटी उपाधि नजिक

काठमाडौं, चैत २९ । इङ्लिश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले उपाधि सम्भावना बलियो पारेको छ । गएराति भएको खेलमा सन्डरल्याण्डलाई २–० ले हराउँदै लेष्टरले उपाधि दाबेदारी बलियो पारेको हो ।

खेलमा लेस्टरलाई विजयी गराउन दुबै गोल जेमी भार्डीले गरे । जितसँगै ईटालियन प्रशिक्षक क्लाउडियो र्‍यानेरीको प्रशिक्षणमा रहेको यो सिजनको सरप्राईज टोली लेस्टरले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा टोटनह्यामले म्यान्चेस्टर युनाईटेडलाई ३–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अली, टोडी अल्डरवेराल्ड र एरिक लामेलाले एक–एक गोल गरे ।

प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ४–१ ले हराएको छ । लिभरपुलका लागि डिभोक ओरिगीले दुई गोल गरे भने ड्यानियल स्टरीज र अल्बर्टो मोरेनोले एक–एक गोल गरे । स्टोक सिटीका बोयान कर्कीकले एक गोल फर्काए ।

गएरातिका खेलहरुपछि इङ्लिश प्रिमियर लिग फुटबलमा ३३ खेलबाट ७२ अंक जोडेको लेष्टर सिटी शीर्ष स्थानमा छ । सिजनमा ५ खेलमात्रै बाँकी छँदा उसले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता कायम गरेको छ ।

टोटनह्यामको ६५ अंक छ भने एक खेल कम खेलेको आर्सनल ५९ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्