
डडेल्धुरा, चैत २९ । डडेल्धुराका राउटेका लागि घर बनाउन ढिलाई भएको छ । राउटेका लागि घर बनाउन थालिएको चार वर्ष बितिसकेको छ । तर अझै निर्माण कार्य पूरा भएको छैन ।
जंगलमा बन्दै आएका राउटेका लागि सरकारले ‘राउटे घर आवास’ कार्यक्रम ल्याएर घर निर्माणको काम शुरु गरेको थियो । लोपोन्मुख जाती राउटेलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि निर्माण गर्ने भनिएका घरहरु बन्दै गर्दा अख्तियारले वन फडानीको मुद्दा चलाएपछि जंगलबाट काठ ल्याउन प्रतिबन्ध लागेपछि चार वर्ष यता कुनै काम हुन नसकेको हो ।
परशुराम नगरपालिका–४ रजेउडामा रहेका ४५ परिवारमध्ये ३० परिवारका लागि बनाउन थालिएका नयाँ घरको छाना बन्न सकेको छैन । रजेउडाका ४१ घरका लागि प्रतिघर एकलाख ७६ हजार रुपैयाँका दरले ७५ लाख रुपैयाँ खर्च भइसकेको छ ।
बाँकी काम पूरा गर्न चाँडै तयारी थालिने शहरी विकास विभागको सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्