२०७२ मा उत्साहप्रद रहेन नेपालको खेलकुद • Image Khabar Image Khabar


२०७२ मा उत्साहप्रद रहेन नेपालको खेलकुद


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०२:५३

२०७२ मा उत्साहप्रद रहेन नेपालको खेलकुद

काठमाडौं, चैत २९ । गत वैशाख १२ गते नेपालीले कल्पनासम्म नगरेको विनाशकारी भूकम्प गयो । भूकम्पले देशका सबै पक्ष प्रभावित भएपछि नेपाली खेलकुद पनि यसबाट अछुतो रहन सकेन ।

भूकम्पका कारण कतिपय खेलाडीले आर्थिक तथा भौतिक क्षति ब्योहोरे भने भूकम्पकै कारण खेलकुदका भौतिक संरचना दशरथ रङ्गशालालगायत अरु प्रमुख खेलस्थल नराम्ररी प्रभावित भए । परिणामस्वरुप दशरथ रङ्गशाला अहिलेसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । नियमितजसो फुटबलका प्रतियोगिता हुने रङ्गशाला अहिले ठूलो राजनीतिक दलका चियापानस्थल र ठूलो नेताको निधन हुँदा श्रद्धाञ्जलि दिने ठाउँका रुपमा परिणत भएको छ । रङ्गशालाको पुनःनिर्माणको काम कछुवा गतिमा भइरहेको देख्न सकिन्छ ।

विनाशकारी भूकम्पपछि करिब पाँच/छ महिना नेपाली खेलकुद क्षेत्र शून्यप्रायः भयो भने नेपाली खेल क्षेत्रमा भएका अनेक हर्कतले यो वर्ष खेल क्षेत्र बदनाम हुनपुग्यो ।

यता यसै वर्ष नेपाली फुटबलमा अर्को चर्चित काण्ड मच्चियो । गत असोज २७ गते फुटबल फ्यान ‘सक’ हुनेगरी एउटा समाचार सार्वजनिक भयो– नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी र एक प्रशिक्षकलाई पहिलो पटक म्याच फिक्सिङको अभियोगमा प्रहरीले पक्राउ गर्‍यो ।

प्रहरी अनुसन्धानका क्रममा फुटबल टिमका खेलाडीलाई विदेशबाट रहस्यमयरुपमा पैसा आउने गरेको खुल्दै गयो । उनीहरुको बैंक खातामा विभिन्न देशबाट आएका पैसाको कुनै पनि स्रोत थिएन, जसले फिक्सिङको शङ्कालाई थप बलियो बनायो । अनुसन्धानबाट यतिसम्म खुलेको थियो कि सट्टेबाज तथा नेपाली खेलाडी खरिद गर्नेहरुले नेपालमै आएरसमेत रकम बुझाएका थिए ।

प्रहरीले देशद्रोहको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्‍यो तर अदालतले उनीहहरूलाई धरौटीमा मुक्त गरिदियो ।

यसै वर्ष भूकम्पका कारण मुलुकमा कुनै पनि ठूलो प्रतियोगिता हुन सकेनन् । आयोजना हुन लागेको सातानै भूकम्प आएपछि सूर्य नेपाल मास्टर्सको २२ औँ संस्करण आयोजना नै सम्भव भएन । यस कारण नेपाली व्यावसायिक गल्फरको भारत, बङ्गलादेश, श्रीलङ्काका उत्कृष्ट खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर गुमेको थियो ।

त्यस्तै साहसिक दौडको रूपमा विश्वविख्यात तेन्जिङ हिलारी एभरेस्ट म्याराथनलाई पनि भूकम्पले प्रभावित पार्‍यो । प्रत्येक वर्ष मे २९ (जेठ १५) मा आयोजना हुँदै आएको यो म्याराथनको १३ औँ संस्करण समयमै हुन सकेन । यो प्रतियोगिता करिब पाँच महिनापछि ५ अक्टोबर (असोज १८) गते सञ्चालन गरिएको थियो ।

भूकम्पकै दिनबाट रोकिएको २०७१ को राष्ट्रिय फुटबल लिग पुनः भदौमा मात्र सुरु भई कात्तिक २०७२ सालमा सकियो । मङ्सिरमा पूर्वाञ्चलमा गर्ने तय भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भूकम्पकै कारणले हुन सकेन । अब प्रतियोगिता हुने÷नहुने निश्चित भएको छैन ।

कीर्तिपुरस्थित इन्डोर क्रिकेट ट्रेनिङ सेन्टरलाई पनि भूकम्पले चिराचिरा पारिदियो । भूकम्पपछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित कभर्ड हलमा पनि प्राविधिकले पहेँलो स्टिकर टाँसिदिएका थिए । तर, मर्मतबिनै त्यही कभर्ड हलमा प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आयोजना गरियो ।

नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद सन् २०१८ मा आयोजना गर्ने मौका पाएको छ तर, अहिलेको खेलकुदका संरचना पुनः निर्माण तथा नयाँ निर्माणको क्रम हेर्ने हो भने नेपालले यो प्रतियोगिता गर्न सक्ने अवस्था छैन ।

गएको माघमा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) पनि नेपालका लागि उपलब्धिमूलक रहेन । प्रतियोगितामा नेपालले जितेका तीन स्वर्ण सन् १९९३ यताकै सबैभन्दा खराब प्रदर्शन हो । १२ औँ सागमा नेपालले तीन स्वर्ण, २३ रजत र २४ कास्यसहित कुल ६० पदक हात पार्‍यो ।

यस्तै ढाकामा सम्पन्न बङ्गबन्धु कपको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकाल्दा आर्मीका फरवार्ड नवयुग श्रेष्ठ एकाएक चर्चामा आए । उनले उक्त खेलमा ह्याट्रिक गरेका थिए ।

नेपाली फुटबलमा २२ वर्ष एकछत्र राज गरेका तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई यसै वर्ष आर्थिक अनियमितताको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घले १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयाङ्क जरिवाना गर्दै फुटबलबाट हटाइदियो ।

फुटबलमा नवयुग सुरु

फुटबलमा राष्ट्रिय टिमले २३ वर्षपछि उपाधि जित्यो । उपाधिको खडेरी बङ्गबन्धु गोल्डकपमा तोडिएको थियो । एन्फा अध्यक्ष थापा र फिक्सिङ काण्डलगत्तै बङ्गादेशको ढाका सम्पन्न बङ्गबन्धु कपको उपाधिले नेपाली फुटबलले पुनः केल्टे फेर्‍यो र फुटबलमा नवयुग सुरु भयो ।

कप्तान थापासहित महत्वपूर्ण खेलाडी फिक्सिङको आरोपमा पक्राउ परेपछि अब नेपली फुटबलको भविश्य सकियो भन्नेको नेपाली युवा टोलीले ढाकामा जितेको उपाधिले मुख बन्द गरिदियो । त्यस्तै नेपाली युवा टोलीले लगत्तै भारतको इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई २–१ ले पराजित गर्दै २३ वर्षपछि क्षेत्रीय खेलकुदको उपाधिमाथि कब्जा जमायो ।

यसरी विभिन्न विवाद र पीडाबीच नेपाली फुटबलले यो वर्ष २३ वर्षको उपाधिको खडेरीलाई तोड्दै तीनवटा महत्वपूर्ण उपाधिमाथि कब्जा जमायो ।

यसरी वर्षको पूर्वार्द्धमा नेपाली फुटबल क्षेत्रमा देखिएको नैरास्यता वर्षको उत्तरार्द्धमा आइपुग्दा केही आशातित सफलताले नेपाली फुटबल सुधार हुँदै गएको सङ्केत दिन थालेको छ ।

क्रिकेट पनि विवादमुक्त रहेन

यसै वर्ष नेपाली क्रिकेट पनि विभिन्न विवादमा मुछियो । केही वर्षदेखि नेपाली खेल क्षेत्रमा केही सम्भावना बोकेको क्रिकेटले साल २०७२ मा आशातित सफलता पाउन सकेन ।

यो वर्ष उमेर समूहमा भने नेपाली क्रिकेटरले सफलता हात पार्‍यो । यु–१९ टोली विश्वकपमा छनोट हुनका साथै विश्वकपको दोस्रो चरणसम्म पुग्न सफल भयो ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपका लागि छनोटबाहेक नेपाली क्रिकेटले यो वर्ष खासै राम्रो नतिजा निकाल्न सकेन । क्रिकेटको सङ्घमा भएको आन्तरिक विवाद, कमजोर भौतिक पूर्वाधारलगायतका कारणले नेपालमा हुने केही प्रतियोगितासमेत हुन सकेन वर्ष २०७२ मा ।

यसै वर्ष नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलाई भ्रष्टाचार आरोपमा विशेष अदालतले सफाइ त दियो तर त्यो कार्यसमितिले सही तवरले नयाँ नेतृत्व छनोट गरेन । गुटको राजनीतिक चलखेलबीच चतुरबहादुर चन्द क्यान अध्यक्ष त भए तर त्यसलगत्तै राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई अवैध ठहर्‍याउँदै क्रिकेटको सम्पूर्ण जिम्मेवारी क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई दिँदै रमेश सिलवालको नेतृत्वमा तदर्थ कमिटी बनाइदियो । यो दुई समूहको विवाद अहिले अदालतमा विचाराधीन छ ।

भलिबल सङ्घ निस्क्रिय

यसैगरी यो वर्ष भलिबलमा अन्तर्राष्ट्रिय खेलमा नेपालले उपाधि जित्न सकेन् भने नेपाल भलिबल सङ्घले पनि कुनै प्रतियोगिता गरेन । तर निजी क्षेत्रले आधा दर्जन प्रतियोगिता सञ्चालन गरे । ती सबै प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफले नै बाजी मार्‍यो ।

शुभकामना नेपाली खेल क्षेत्रलाई, आगामी वर्ष गत वर्षको जस्तो नियति भोग्नु नपरोस् । (रासस)

प्रतिक्रिया दिनुहोस्