९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


नौमती र पञ्चे बाजा संरक्षणको चासो (भिडियो)


0
Shares

रविन भट्टराई –
ताप्लेजुङ, चैत २९ । दश वर्षे द्वन्द्वको समयदेखि पूर्वी जिल्लामा कम बजाईदै आएको नौमती र पञ्चेबाजा संरक्षणमा पुनः चासो दिन थालिएको छ । अहिले पूर्वका ताप्लेजुङसहित पाँचथर, ईलाम, झापा र तेह्रथुमलगायतका जिल्लाका दमाई समुदायका युवा तथा बाजा बजाउन पोख्त बृद्धहरु पुनः नौमती र पञ्चेबाजाको संरक्षणमा जुटेका हुन् ।

विषेशगरी शुभ कार्य विवाह, ब्रतबन्धमा बजाईने नौमती र पञ्चेबाजा दश वर्षे जनयुद्धको समयमा बन्द हुन पुग्यो । तत्कालिन माओवादीको निर्देशन अनुसार डरै डरमा बाजा बजाउन बन्द गरेका दमाई समुदायले समयको मागसँगै फेरि शुरु गर्न लागेका हुन् ।

तर पछिल्लो समय धेरै परिवर्तन आएको उनीहरु बताउँछन् । अहिले ब्यान्डबाजा, अडियो र भिडियोको प्रभावको चेपुवामा परेको नौमती र पञ्चेबाजा संरक्षणमा युवाहरु भन्दा पनि पहिले बजाएका र ज्ञान भएका बुढा पाका नै सक्रिय छन् ।

द्वन्द्वको समयमा क्रान्तिकारी गीत र आधुनिक बाजा बजाउन दबाद दिएका कारणले पनि लामो समयसम्म नौमती र पञ्चे बाजा बजाउने क्रम रोकिएको र अहिले पनि युवाहरुले खासै चासो नदिंदा संरक्षण गर्न गाह्रो भएको उनीहरु बताउँछन् ।

नौमती बाजा नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो पञ्चे बाजाको ठूलो रूप हो । जसमा चारवटा अरू बाजा थपिएको हुन्छ । यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् । जसमा सहनाई र दमाहाका दुई–दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौजना बाद्य बादक लोक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमती बाजा भनिएको हो ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा युद्ध क्षेत्रमा बजाउनको लागि ब्यान्ड बाजा नेपाल भित्रिएको भए पनि एक दशक यता यो बाजालाई विवाह ब्रतवन्ध जस्ता शुभ समारोहमा प्रयोग गर्न थालिएको थियो । दश वर्षपछि पुनः आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्नुपर्छ भनि लागेका दमाई समुदायका बृद्धहरुलाई युवा, अन्य समुदाय र सरकारले पनि उचित साथ र सहयोग गरे लोप हुन लागेको नौमती र पञ्चे बाजालाई संरक्षण गर्न सकिने थियो ।