
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्रामीण क्षेत्रमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा नभएका कारण अझैपनि महिलाहरु बच्चा जन्माउन नसकेर मृत्यु हुने समस्यामा रहेको बताएकी छन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को २५औं रजतजयन्ती र स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवालाई मुनाफा कमाउने व्यवसायकोरुपमा परिणत गर्ने प्रणालीका कारण स्वास्थ्यमा सबैको पहुँच हुन नसकेको बताइन् ।
कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्य क्षेत्रमा प्रयाप्त अध्ययन–अनुसन्धान हुन नसकेको भन्दै अब कृषिमा आधारित खाद्यवस्तुको अध्ययन हुनुपर्ने बताए ।
खाद्यान्यका कारण नै रोगको संक्रमण बढ्ने भएकाले कृषिमा अध्ययन हुन आवश्यक रहेको उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले दियो विकासको लक्ष्य प्राप्त गर्न नेपालले १५ वर्षमा स्वास्थ्य क्षेत्रको विकास र स्वास्थ्य क्षेत्र सर्वसुलभ बनाउन काम गर्नुपर्ने बताए ।
उनले नेपालका वैज्ञानिकलाई परिचालन गरेर स्वास्थ्य क्षेत्रका अझ बढी अध्ययन अनुसन्धान गर्नुपर्ने र स्वास्थ्य क्षेत्रमा बजेट थप्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य अनुसन्धान परिषद्का संस्थापक अध्यक्ष डा. मीनेन्द्रराज पाण्डेलाई स्वास्थ्य अनुन्धानको क्षेत्रमा सहयोग पु¥याएको भन्दै राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ६ सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता र जनस्वास्थ्य विज्ञहरु सहभागी छन् ।
सम्मेलनमा देशभित्र र बाहिरका वैज्ञानिकहरुको नयाँ खोज र अनुसन्धानकाबारेमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्