
म्याग्दी, जेठ ५ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर केरा खेती गर्न थालेका छन् ।
धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका किसानले व्यवसायिक केरा खेती गरेर आयआर्जन गर्न थालेका हुन् । अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले आफूहरुले केरा खेती गरेको किसानहरु बताउँछन् ।
केही वर्ष अघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैंचामा परिणत भएको छ । गाउँको करिब ९ हेक्टर क्षेत्रफलमा करिब २० जना किसानले बगैंचा नै बनाएर व्यवसायिक केराखेती गरेका छन् ।
बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा सदस्य चन्द्रवहादुर कुवँरले बताए ।
केरा खेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष तीन लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्