Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा बीचको फाटो नोक्सानदायी : पूर्वराजा


0
Shares

काठमाडौं, चैत ३० । पूर्वराजा ज्ञानेन्द्र शाहले समस्त नेपाली जनतालाई नयाँ वर्ष २०७३ को शुभकामना व्यक्त गरेका छन् ।

उनले नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘विक्रम सम्वतले मिति, तिथि र नेपाली संस्कृतीलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृती, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पिएका धरोहरहरु आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दैछ ।’

त्यसका लागि दक्षिण एसियाको भूराजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी रहेको पनि उनले औंल्याएका छन् । ‘हामी को थियौं, कहाँ थियौं, अहिले कुन स्थितीमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनु पर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन्,’ सन्देशमा उनले भनेका छन् ।

राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दूरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको उल्लेख गर्दै उनले सन्देशमा भनेका छन्, ‘राष्ट्र सम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णा बीचको फाटो नोक्सानदायी भैसकेको छ ।’

त्यसैले स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमूख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको उनले प्रष्ट पारेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘आफ्नो भाषा, इतिहास र धर्म संस्कृतीहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दैै स्वदेश हेरेरमात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं, यही मेरो शुभकामना ।’

Skip This