१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


सिरहामा सलहेस मेला, वैशाख १ गतेमात्र फुल्छ यो फूल


0
Shares

काठमाडौं, वैशाख १ । सिरहामा आजबाट दुई दिने सलहेस मेला शुरु भएको छ । नयाँ वर्षको आगमनसँगै राजा सलहेसको ऐतिहासिक सन्दर्भ जोडिएको सिरहामा यो मेला लाग्ने गर्दछ ।

मेलाको मूख्य आकर्षण एउटा रुखमा वैशाख १ गतेमात्र फुल्ने फूल रहेको छ । माला आकारमा फुल्ने फूल हेर्न हरेक वर्ष हजारौं नेपाली र भारतीयहरुको भीड लाग्ने गर्दछ ।

राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेमगाथाको रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब १० विगाहाको प्राचीन फूलबारीको दुईवटा रुखको मध्य भागमा एक जोडी माला देखिने गरेको छ । फूलबारीस्थित मालिनी मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार प्रतापी राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप मेला आयोजना हुँदै आएको छ ।

वैशाख १ गतेका दिन फूलबारीमा रहेको मालिनी मन्दिर अगाडि कैयौं जोडीको विवाह पनि हुने गरेको छ ।

उता, सुदूर पश्चिमाञ्चलमा आज धुमधामका साथ विसु पर्व मनाईदै छ । नयाँ वर्षको पहिलो दिन मनाईने यस पर्वमा सिस्नुपानी छर्केर शुभकामना आदान प्रदान गर्ने चलन छ ।

ज्योतिषशास्त्रअनुसार यस दिन सूर्य विषुवत रेखामा जाने भएकाले सुदूरपश्चिममा यस दिनलाई विसु संक्रान्ति भन्ने गरिन्छ । विसु संक्रान्तिका दिन बीस गाग्री पानीले नुहाएमा वा नदीमा गएर बीस पटक डुबुल्की मारेमा रोगव्याधि हट्ने विश्वास छ ।

दोष काट्नका लागि विसु पर्वमा साली–भिनाजु, देवर–भाउजु, साथी–संगीबीच भिजाएको सिस्नो लगाइने चलन पनि छ । विसु पर्वका बेला गहुँको नयाँ बाला पोलेर बनाउने उमालाई प्रसादका रुपमा वितरण गर्ने पनि चलन छ । उमा जति धेरैलाई बाँड्यो त्यति नै पुण्य कमाइने विश्वास रही आएको छ ।

त्यस्तै पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, थारु, माझी, ताजपुरिया लगायतका आदिवासीहरुले आज एक आपसमा पानी छ्यापाछयाप् गरेर धुमधामसँग सिरुवा पर्व मनाउँदै छन् ।

तराईका आदिवासी समुदायले विषेश पर्वका रुपमा मनाईने यो पर्वमा आज जल सिरुवा, भोली २ गते काद् सिरुवा र पर्सि ३ गते रंग सिरुवा खेल्दै तीन दिनसंम्म मनाईने गरिन्छ । पर्वको अवसरमा आज झापामा राजवंशी समाज विकास समिति, नेपाल थारु कल्याणकारी सभा, माझी कल्याण समिति लगायतका संघ–संस्थाहरुले कार्यक्रमको आयोजना गरी सामुहिकरुपमा बाजागाजाका साथ नगरपरिक्रमा गरि शुभकामना आदान प्रदान गरेका छन् ।

राजवंशी लगायतका आदिवासी समुदायले एक आपसमा पानी, हिलो र रंग खेली मनाईने यो पर्वमा चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पकवान नयाँवर्ष बैशाख १ गते खाने चलन छ । यस पर्वका अवसरमा सामुहिक रुपमा नाचगान पनि गर्ने गरिन्छ ।