१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


शक्तिस्वरुपा देवी भगवतीको पूजा गरी चैते दसैं मनाइँदै


0
Shares

काठमाडौं, वैशाख २ । आज चैते दसैं, शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ ।

चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ । असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैं नेपाली समाजमा महत्वका साथ हेरिन्छ । वर्षमा दुई पटक चैत र असोजमा मनाइने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ ।

समाजमा चैते दसैंलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भए पनि देवी देवताका मन्दिरमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने परम्परा भने रहेको छ ।

मामाघर, माइत, ससुरालीलगायत आफन्तका घर गएर मान्यजनका हातबाट टीका थाप्ने चलन पनि छ । असोजको बडादसैंजस्तो यो बेलामा पहेंलो जमरा भने प्रयोग हुँदैन ।

घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । शक्तिस्वरूपा भगवतीको आराधनाको महत्व सप्तशती चण्डी, देवीभागवत्, कालिका पुराण आदिमा उल्लेख छ ।

चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुहेश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।