२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


पूर्वाधारबिनै लुम्बिनी भ्रमण वर्ष सुरु (भिडियो)


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, जेठ ४ । प्रदेश नम्बर–५ सरकारले शनिबारदेखि लुम्बिनी भ्रमण वर्ष सुरु गरेको छ ।

भगवान् गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आन्तरिक पर्यटक आकर्षित गर्न भन्दै प्रदेश सरकारले बुद्धजयन्तीकै दिनबाट पर्यटन वर्ष सुरु गरेको छ ।

तर, पर्यटकलाई लुम्बिनीसम्म पुर्‍याउने र घुमफिर गर्ने पूर्वाधार निर्माण हुन सकेको छैन ।

चर्को गर्मी र धुलाम्य सडक । भएको पक्की सडक पनि साँघुरो । पर्यटन वर्ष घोषणाकै दिन आन्तरिक पर्यटकले लुम्बिनी पुग्न निकै सास्ती भोग्नुपर्‍यो ।

लुम्बिनी पुग्दा निर्माणाधीन सडकको धुलोको सामना गर्नु पर्यटकको बाध्यता बनेको छ ।

लुम्बिनी पुगेपछि पनि त्यहाँको सुन्दरता र धार्मिक तथा पुरातात्विक महत्वका सम्पदा क्षेत्रको अवलोकन गर्न उस्तै समस्या छ । सहजरुपमा सवारी–साधन पाइँदैन ।

पर्यटन वर्ष सुरु भएपनि आवश्यक तयारी पुगेको देखिन्न । स्थानीय होटल व्यवसायी तथा बुद्धिजीवीहरु पनि हतारमा काम गर्दा पर्याप्त तयारी नपुगेको बताउँछन् ।

प्रदेश–५ सरकारले लुम्बिनी भ्रमण वर्षभर २० देखि २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसले सन् २०२० को पर्यटन वर्षलाई पनि सघाउ पुग्ने प्रदेश सरकारको दाबी छ ।

समग्र लुम्बिनी क्षेत्रकारुपमा रहेका कपिलवस्तु र नवलपरासी तथा रुपन्देहीकै अन्य क्षेत्रमा पनि पर्यटन वर्षका कार्यक्रमलाई लैजाने प्राथमिकता छैन । त्यसो त अहिलेसम्म लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशतमात्रै काम सकिएको छ ।

वार्षिक सरदर २० लाख पर्यटक पुगे पनि उनीहरुको भ्रमण अवधि अत्यन्तै छोटो हुने भएकाले सोचेजस्तो उपलब्धि हुन सकेको छैन । लुम्बिनी आउने पर्यटक सरदर तीन घन्टामात्रै बस्छन् ।

पर्यटन वर्षका लागि प्रदेश सरकारले चार करोड १९ लाख रूपैयाँ विनियोजन गरेको छ । तर, यति धेरै रकम खर्चेर सोचेजस्तो परिणाम आउनेमा भने आशंका सुरु भइसकेको छ ।

भिडियो हेर्नुहोस्