
रुपन्देही, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलकारुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
२५६३औं बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा शनिबार आयोजित भिक्षु–भिक्षुणीलाई संघदान गर्ने कार्यक्रमको अवसरमा उनले बुद्ध समुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिनेगरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।
‘विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थकरुप लिँदै गएका छन्’–उनले भने–‘यो वर्षदेखि योजनाबद्ध ढंगले सरकार अघि बढेको छ । लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिकोरुपमा थप विकास गरिनेछ ।’
प्रधानमन्त्री ओलीले १९ ओटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढाउँदै लग्ने प्रतिबद्धता जनाए ।
थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्ध समुदायलाई नै सन्देश दिनेगरी कार्यक्रम गर्न पाएकामा खुसी व्यक्त गरे ।
बिहानैदेखि व्यस्त
२५६३औं बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आएका प्रधानमन्त्री ओली शनिबार बिहानैदेखि कार्यत्रममा व्यस्त भए ।
बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ ।
बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकाले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै संख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो ।
वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्तिर्यालीमा सहभागी भए । शान्तिदीपमा उनले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरे ।
त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षु–भिक्षुणीलाई संघदान गरे । उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे ।
विहारमा प्रधानमन्त्रीले १५० भिक्षु–भिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान र भोजन दान गरे ।
त्यसलगत्तै प्रधानमन्त्री ओली लुम्बिनी भ्रमण वर्ष शुभारम्भ तथा बुद्धपूर्णिमाको मूल समारोहमा सहभागी भए । रासस
तस्वीरः भरत केसी/रासस ।
प्रतिक्रिया दिनुहोस्