१४ आश्विन २०८०, आइतबार | Sun Oct 1 2023


नारायणगढ–मुग्लिन सडकमा फेरि अर्को समस्या, थपियो चुनौती (भिडियो)


0
Shares

राजु चौधरी (इमेज)

चितवन, असार २८ । नारायणगढ–मुग्लिन सडकखन्डमा यात्रीहरुले पटक–पटक सास्ती भोग्दै आएका छन् ।

कहिले निर्माणको काम त कहिले पहिरोको समस्याले आजित यात्रीलाई फेरि सडक भासिएर अर्को समस्या खडा भएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखन्ड भएर यात्रा गर्ने यात्रीहरुले निर्माण अवधिभर निकै सास्ती भोगेका थिए ।

निर्माणको काम अन्तिम चरणमा पुगेसँगै यात्रीहरुमा केही खुसियाली देखिएको थियो । तर, पटक–पटक खस्ने पहिरोले उस्तै सास्ती भोग्न बाध्य छन्, यात्रीहरु ।

एकातिर पहिरोको समस्या त छँदैछ । त्यसमाथि सडक नै भासिएर फेरि अर्को समस्या खडा भएको छ ।

अहिले यस सडकखन्डको १७ किलो भन्ने स्थानमा सडक नै भासिएपछि फेरि अर्को चुनौती थपिएको छ ।

सडक पूरै दबिएकाले यस क्षेत्रमा एकतर्फी सवारी–साधनहरु सन्चालन भइरहेका छन् ।

पहिरोको समस्या समाधान गर्न नपाउँदै सडक भासिएर फेरि अर्को चुनौती थपिएको बताउँछन्, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम ।

बुधबार करिब ५० मिटर लम्बाइ र ५ मिटर चौडाइ भासिएको सडक बिहीबार झनै धसिएको छ ।

सो क्षेत्रमा पानीको उचित निकास नहुँदा सडकभित्रबाटै समस्या पैदा भएको बताउँछन्, नारायणगढ–मुग्लिन सडकखन्ड आयोजनाका इन्जिनियर एवं प्रवक्ता शिव खनाल ।

सडक भासिएपछि काठमाडौंबाटै भूगर्भविद् टोली नै आएर सडक भासिनुको कारणबारे अध्ययन भइरहेको छ ।

अर्कोतिर यस सडकखन्डका पुलहरुमासमेत बेलाबेलामा समस्या हुँदा यात्री र स्थानीयवासी सबैलाई त्रसित बनाएको छ ।

पहिलो चरणको कालोपत्रे सकिएपछि यस सडकखन्ड भएर यात्रा गर्न धेरै सहज भइसकेको थियो थियो ।

३६ किलोमिटरको यस सडकखन्ड सवारी–साधनमार्फत् करिब ४५ मिनेटभित्रमा पार गर्नसक्ने अवस्था बनिसकेको थियो ।

तर, बेलाबेलाको पहिरो र सडक भासिँदा अझै यस सडकखन्ड भएर यात्रा गर्न कठिन हुने देखिएको छ ।

भिडियो हेर्नुहोस्