
मोरङ, वैशाख ३ । ७१ वर्षको उमेरसम्ममा पनि कसैले शौचालय (चर्पी) प्रयोग गरेन भनेको सुन्दा कसले पत्याउला र ? तर यो कुरा सत्य हो । सुन्दा अचम्म लाग्न सक्छ, मोरङ बुधनगर–९ का मिश्री शर्माले ७१ वर्षको उमेर टेक्दासम्म शौच गर्न कहिल्यै चर्पी गएका छैनन् ।
उनीमात्र होइन, शर्माजस्तै ७० वर्षका रामलाल दास, भूमिलाल यादवले पनि अझैसम्म शौच गर्न चर्पीको प्रयोग गरेका छैनन् । उनीहरु गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि भने चर्पी प्रयोग गर्ने तयारीमा छन् ।
सामान्य परिवारका उनीहरुमा अझै चर्पीमा शौच गरेको अनुभव छैन । तर चर्पीमा शौच गर्न इच्छुक भने रहेको सुनाउँछन् ।
एकहत्तर वर्षको उमेरसम्म खुला आकाशमुनि शौच गर्ने बानी बसेका उनीहरु चारैतिर घेरिएको चर्पीभित्र शौच गर्दाको अनुभव बटुल्ने इच्छा रहेको बताउँछन् । गाउँमा खुला ठाउँमा दिसा गरिन बन्देज गरिएपछि उनीहरुले चर्पीमा शौच गर्ने इच्छा व्यक्त गरेका हुन् ।
मिश्रीलाल शर्माले भने, ‘जन्मेदेखि अहिलेसम्म शौच गर्न चर्पीको प्रयोग गरेको छैन ।’ घरमा चर्पी नभएर बाहिरै शौच गर्ने उनी चर्पी बनाएपछि भने शौच गर्न बाहिर नजाने बताउँछन् ।
मोरङको बुधनगर गाविसलाई २०७४ असार मसान्तभित्र खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियान सुरु भएपछि उनीहरु चर्पी प्रयोग गर्न इच्छुक भएको बताउँछन् । शर्माजस्तै ७० वर्षका रामलाल दासले पनि अझैसम्म चर्पीको भित्र रुप देखेका छैनन् । गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि उनी बाध्य भएर पनि चर्पीमै शौच गर्ने तयारीमा छन् ।
बुधनगर– ३ का अर्जुन मेहताले ६ वर्षअघि घरमा शौचालय बनाएका थिए । उनलाई सधैँ खुला ठाउँमा शौच गर्ने सुरुका दिनमा बानी पर्न मुस्किल पर्यो । ‘चर्पी प्रयोग गर्दा सुरुमा शौच गर्दा आउँदैन, तर बानी परेपछि आइहाल्छ,’ उनले भने ।
बुधनगर गाविस सचिव दयाराम सिलवालका अनुसार सो गाविसमा दुई हजार ४२६ घरपरिवारका ५८५ चर्पी छन् । त्यसैगरी, एक हजार ८४१ घरपरिवारको चर्पी नभएको बुधनगर गाविस सचिव सिलवालको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस्