
रविन भट्टराई –
ताप्लेजुङ, वैशाख ३ । ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडा क्षेत्रमा आगलागी भएको एक वर्षभन्दा बढी बितिसकेको छ । तर, आगलागी प्रभावितका समस्या भने ज्यूँका त्यूँ छन् ।
एक वर्षअघि भएको आगलागीमा यहाँका ४४ घर पूर्णरुपमा नष्ट भएका थिए ।
सरकार समक्ष स्थायी पुनर्वास, विना व्याज ऋणको व्यवस्था लगायतका माग राखेका ताप्लेजुङ तोक्मेडाँडाका आगलागी पीडितले एक वर्षसम्म आश्वासन बाहेक केही पनि पाएनन् ।
तत्कालिन प्रधानमन्त्री सुशील कोईराला, गृहमन्त्री बामदेव गौतम लगायत देशका उच्च पदस्थ अधिकारीबाट पीडितले सो समयमा गतिलै आश्वासन पाएका थिए । आगलागी पीडित परिवारको तत्कालको सबैभन्दा ठूलो माग मेची राजमार्ग तोकिएको तोक्मे क्षेत्र हुँदै बीच बजारबाट प्रवाह भएको मार्गको विकल्प बजार बाहिरबाट खोजिनुपर्ने रहेको थियो ।
तत्कालिन सरकारले गएको असोज ३ गते फुङलिङ बजार बाहिरबाट मेची राजमार्गको बिकल्प खोज्न सकिने आधारको निर्णय गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान अझै सकेको छैन ।
२०६९ सालको जेठ दोस्रो साता भएको मन्त्रीस्तरीय निर्णयले मेची राजमार्गको झापाको केचनादेखि ईलाम–पाँचथर–ताप्लेजुुङ हुँदै उत्तरको सिमावर्ती क्षेत्र घाङ्ग्रिलासम्मको भागमा राजमार्गको क्षेत्राधिकार ३० मिटर हुने निर्णयले आगलागीग्रस्त तोक्मे क्षेत्रका बासिन्दा प्रभावित बनेका थिए ।
सरकारको उतिबेलाको निर्णय अनुसार मेची राजमार्गको क्षेत्र आगलागीग्रस्त तोक्मे क्षेत्र हुँदै शान्तिटोलबाट पराजुली चौक–बुद्धचौक हुँदै सेती चौताराबाट उकालो लाग्ने गथ्र्यो । आगलागी पीडित परिवारले सरकारले गरेको निर्णय कार्यान्वयनमा सरकारको दृष्टी सहि हुनुुपर्ने माग गरेका छन् ।
यता, ताप्लेजुुङ नगरपालिकाले भने हाल आगलागीग्रस्त क्षेत्रमा बनेका घर–टहरा मापदण्ड बिपरित रहेकोले यिनको स्वीकृती गर्न अझै मानेको छैन । राजमार्ग घुमाईएको बिषयमा माथिल्लो निकायबाट जानकारी नआएकाले घर टहरा स्वीकृत गर्न नमिल्ने नगरपालिकाको भनाइ छ । भर्खरै नियुक्त भई आएका ताप्लेजुुङ नगरपालिकाका कार्यकारी अधिकृत डिल्लीरमण पौडेल भने आफूले यस विषयमा अध्ययन गरिरहेको बताउँछन् ।
२०७१ चैत ९ गते राति होटलबाट सुरु भएको आगोले यस क्षेत्रका ४४ घर नष्ट भएका थिए । ४४ घर जल्दा ५५ करोडभन्दा बढिको क्षति भएको थियो भने १ सय २२ परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्