
विवेक भण्डारी
नवलपुर, जेठ ४ । दक्ष र तालिम प्राप्त शिक्षकको अभावले नवलपुरका फरक क्षमताका बालबालिका पढाउने विद्यालयमा समस्या भएको छ ।
जिल्लाका ३ स्थानीय तहले फरक क्षमताका बालाबालिकालाई अध्यापन गराउँदै आए पनि पर्याप्त तालिम र शिक्षकको अभावमा उनीहरु मर्कामा परेका हुन् ।
नवलपुरका फरक क्षमताका बालबालिका अध्ययन गराइने विद्यालयमा सांकेतिक भाषाबाट शिक्षण गराइने विद्यालयहरुमा शिक्षकको अभाव हरेक वर्ष खड्किदै आएको देखिन्छ । जिल्लाको देवचुली नगरपालिका, कावासोती नगरपालिका र विनय त्रिवेणी गाउँपालिका गरी तीन स्थानीय तहमा ३७ जना फरक क्षमताका बालबालिकालाई अध्यापन गराइँदै आइएको छ ।
देवचुली नगरपालिको जनज्योति बहिरा तथा अस्वस्थ श्रवण विद्यालयमा आवाससहितको व्यवस्था भए पनि तालिम प्राप्त शिक्षक नहँुदा समस्या भएको बहिरा तथा अस्वस्थ्थ श्रवण स्रोतका स्रोत शिक्षक जगन्नाथ लम्साल बताउँछन् ।
सरकारले केही शिक्षक पठाए पनि विद्यार्थी संख्याको अनुपातमा आवश्यक शिक्षक पठाउन सकेको छैन । कक्षा सञ्चालन गर्ने समय सुरु भइसके पनि शिक्षकलाई पर्याप्त तालिम नदिएकाले अस्वस्थ श्रवण भएका बालबालिकालाई बुझाउन समस्या भएको शिक्षक लम्सालको गुनासो छ ।
फरक क्षमताका बालबालिकामध्ये सबैभन्दा जटिल अस्वस्थ्य श्रवण भएका बालबालिकाहरुलाई हुने गर्दछ । कान नसुन्ने हुँदा सांकेतिकबाट नै अध्यापन गराउनुपर्ने भएकाले आवश्यक शिक्षकको प्रबन्ध गरी शिक्षकलाई बेलाबेलामा पर्याप्त तालिममको व्यवस्था मिलाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्