२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालको शानदार जित


0
Shares

 काठमाडौं, वैशाख ४ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपालले पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

घरेलु मैदानमा शरद भेषावकर र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गरेसंगै नेपालले एक सय ९६ रनको चुनौती ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

छैटौं विकेटका लागि अविजित ८४ रनको साझेदारी गर्ने क्रममा शरदले ९९ बलमा ५० तथा विनोदले ४९ बलमा ३ छक्काको मद्धतले ४० रन जोडे । नेपालले ३४ रन अतिरिक्तका रुपमा पाउँदा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले समान २१ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ९५ रन बनायो ।

सरेल बर्गरले सर्वाधिक ३८ रन बनाएको इनिङ्गमा बसन्त रेग्मीले ३, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र पारस खड्काले १–१ विकेट लिए ।

आठ टिम सहभागी लिगमा नेपालले यसअघिका सबै चार खेल हारेको थियो । यो जितसंगै घरेलु मैदानमा नेपाललाई राहत भएको छ । नामिबिया विरुद्धको दोस्रो खेम सोमबार कीर्तिपुर मैदानमै हुनेछ ।