
गोरखा, वैशाख ४ । भूकम्पले ध्वस्त गोरखाको बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालय पुनःनिर्माणमा सघाउँदै आएका एक अमेरिकी नागरिकले नेपाली परम्परा (हिन्दू संस्कार)अनुसार विवाह गरेका छन् ।
अमेरिकास्थित क्यालिफोर्निया राज्यका ५५ वर्षीय डानियल र ४९ वर्षीया लीलाबीच विवाह भएको हो । डानियल क्रिश्चियन धर्म मान्छन् भने लीला हिन्दू धर्मावलम्वी हुन् ।
गाउँलेहरु दुलहीपक्ष र दुलाहपक्षमा विभाजित हुँदै जन्ती आएका थिए । स्थानीय बाबुराम वाग्लेको घरबाट दुलाह, दुलही बाजागाजासहित मन्दिर पुगेका हुन् । पुरोहितले भनेअनुसार उनीहरु विवाहमन्डपमा बसे र शास्त्रअनुसार विवाह–बन्धनमा बाँधिए ।
बुंकोट–९ मैलुङस्थित सरस्वती मन्दिर परिसरमा शुक्रबार ध्वजा–पतका टाँगिएको जग्गेमा उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
विवाहमा ५०० जनाभन्दा बढी गाउँले भेला भएका थिए । भोज–भतेरको पनि व्यवस्था गरिएको थियो । विदेशीले नेपाली परम्पराअनुसार विवाह गर्न जुटेपछि हेर्नेको घुइँचो लागेको थियो ।
विवाहको चाँजोपाँजो गर्ने व्यवस्था शिवशक्ति भजन समूहले मिलाएको हो । पुनःनिर्माणमा सघाउँदै आएको पार्मोनियर फाउन्डेसन नेपालका गौतम वाग्ले र चेत भट्टको संयोजनमा उनीहरुको विवाह सम्भव भएको हो ।
वाग्लेकाअनुसार डानियल र लीलाले यसअघि नै ‘लभ’ गरेर विवाह गरेपनि लीलाको आग्रहमा हिन्दूधर्म, परम्पराअनुसार पुनःविवाह गरिएको हो ।
लीला भारतीयमूलकी मलेसियन नागरिक हुन् । रासस
प्रतिक्रिया दिनुहोस्