
सिन्धुली, वैशाख ४ । लामो खडेरीसँगै सिन्धुली जिल्लाको चुरे र महाभारत वन क्षेत्रमा लागेको विनाशकारी डढेलोका कारण पिउने पानीको मुहान सुक्न थालेको छ ।
जसले स्थानीय तहमा पिउनेपानीको हाहाकार मच्चिन थालेको छ । हिउँदमा पानी नपरेर लामो खडेरी र सुक्खा भएकोले वन–जंगलमा लागेको डढेलोले खोला र खोल्सीमा पानीको स्रोत सुकेका हुन् ।
स्रोत नै सुकेपछि मानिस र घरपालुवा पशुपक्षीलाई खानेपानीको समस्या भएको छ । एक महिनादेखि सिन्धुलीको चुरे र महाभारत पहाडमा लागेको डढेलो अझै नियन्त्रणमा लिन सकिएको छैन ।
जसले वन सम्पदा, वनस्पति तथा वन्यजन्तु र चराचुरुंगीको बासस्थान नै विनाश भएको छ ।
विनाशकारी डढेलोले सिन्धुली जिल्लाको भुवनेश्वरी गाविसको ४२ घर–परिवार रहेको गाउँ–बस्ती नै खरानी बनाएर बिचल्ली पारेको छ ।
महाभारत पहाड शृंखलाका जलकन्या, मझुवा, पुरानो झागाझोली गाविसका लेकहरुमा पानीका स्रोत सुक्न थालेका छन् ।
डढेलोले सिन्धुलीको वन क्षेत्रको करिब ६५ प्रतिशत क्षेत्रभित्रका वन पैदावर, वन सम्पदा, वनस्पति सखाप पारेको जिल्ला वन कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्