
यादव आचार्य–
बर्दिया, वैशाख ५ । बर्दियाका अधिकांश ताल सरकारी उदासिनताका कारण अतिक्रमणको चपेटामा परेका छन् ।
ताल अतिक्रमणमा परेसँगै देशभित्र र बाहिरबाट आउने जलचरहरु आहाराको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।
बर्दियामा रहेका सीमसार क्षेत्रहरुमा राज्यको आँखा नपर्दा प्राकृतिक तालहरु अतिक्रमणको चपेटामा परेका हुन् । जिल्लाको आम्दानीका नाउँमा प्राकृतिक तालहरु दशकौं देखि ठेक्कामा दिँईदा प्राकृतिक सीमसार क्षेत्रहरु ठेकेदारको मनपरी गर्ने भाँडो बनेको हो । बर्दियामा ४ सय ७२ प्रजातीका चराहरु पाईन्छन् । यिनीहरु मध्ये अधिकांश जलचराहरु आहारा संकटमा परेका छन् ।
स्थानीय निकायहरुले माछा पालनका लागि ठेक्कामा दिएता पनि ताल क्षेत्रहरुको संरक्षणका लागि कुनै कार्य गरेको पाईदैन । जिल्लामा अवस्थित तालहरुको अवस्था नाजुक बन्दै गइरहेको छ । तालतलैया सुक्दै जाँदा चराहरु पनि खतरामा परेको बर्दिया प्रकृति संरक्षण क्ल्वका अध्यक्ष रामबहादुर शाही बताउँछन् ।
बर्दियामा प्राकृतिक अवस्थामा रहेका तालहरुको संरक्षण हुन सकेको छैन । कर्णाली नदी, बबई नदी बाहेक बढैयाताल, सत्खलुवाताल, भग्ग्रैयाताल, भगरताल, ताराताल लगायतका जिल्लाका महत्वपूर्ण सीमसार क्षेत्रहरु रहेका छन् । यिनीहरुको उचित संरक्षण हुन नसक्दा चरा प्रजातीहरु लोप हुने खतरामा पुगेका हुन् । तालमा भएका माछाहरु ठेकेदारले बिक्री गर्ने भएपछि जिल्लामा रहेका रैथाने तथा आगन्तुक चराहरुले खाने घोँघी, माछा लगायतका आहारा प्रजातीमा कमी भएको छ । आहारा संकट परेसँगै जल चराहरु विस्थापित हुन थालेका छन् । ठेक्कामा लिएका तालहरुमा आएका चराहरुलाई ठेकेदारले नै धपाउने गरेको चराविज्ञ जित बहादुर शाही बताउँछन् ।
बर्दियामा रहेका तालहरुको संरक्षण गर्दै जलचराहरुका लागि आहारा प्रजातीको संरक्षण गर्नु मानवीय कर्तव्य पनि हो । यसका लागि सरकारी निकायले ताल क्षेत्रहरु दिइने ठेक्कापट्टामा कडाई र निगरानीको आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्