
काठमाडौं, जेठ ३ । यस महिना हरियो तरकारीको बजार भाउ आकाशिएको छ ।
दैनिक उपभोग्य तरकारीको बजार भाउ आकाशिँदा नेपालीको भान्सा महँगिएको छ ।
हरेक उपभोक्तालाई दैनिक आवश्यक पर्ने गोलभेडाको भाउ नै यतिखेर किलोको ११० देखि १२० रुपैयाँसम्म पुगेको छ ।
अघिल्लो महिना यसैदिन गोलभेडाको भाउ प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा कारोबार भएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांक छ ।
अघिल्लो महिनाको तुलनामा गोलभेडाको भाउ दोब्बर बढीले बढेको छ ।
यस्तै, आलु, गाजर, काउली, भन्टा, बोडीलगातयको खुद्रामूल्य पनि अचाक्ली बढ्दा उपभोक्ता आक्रान्त छन् ।
नियमित आउनुपर्ने जति तरकारी काठमाडौं भित्रिएपनि तरकारीको भाउ भने एक्कासि बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठ गत महिना आएको शक्तिशाली हावाहुरीका कारण आन्तरिक उत्पादनमा कमी आएकाले तरकारीको भाउ बढेको बताउँछन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने आन्तरिक उत्पादन न्यून हुनु, मानिसहरुको खानेशैलीमा परिवर्तन हुनु तथा बिचौलियाहरुको कारणले तरकारीको बजार भाउ समय–समयमा आकाशिने गरेको बताउँदै आएको छ ।
यो समयमा आन्तरिक उत्पादन कम हुने भएपनि बिचौलियाहरुले कृत्रिम अभाव सिर्जना गर्ने गरेका कारण तरकारीको बजार भाउ आकाशिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन स्वयं बताउँछन् ।
बजारमा बिचौलियाहरुकै कारण उपभोक्ताहरु प्रत्यक्ष मारमा परेको ठहरसहित बिचौलियाहरुको बिगबिगी नियन्त्रण गर्नतिर विभाग अघि बढिरहेको दाबी पनि उनले गरे ।
प्रतिक्रिया दिनुहोस्