
बागलुङ, वैशाख ६ । ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ ।
अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुबैमा राजस्वदर कम छ ।
गत असोज–मंसिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ ।
यस्तै, गत वर्षको पहिलो सिकार याममा नाउर सिकार गरेबापत सिकारीले रु तीन लाख ३० हजारसम्म राजस्व बुझाएका थिए । तर, अहिले एउटा नाउरको रु ७५ हजार राजस्व लिने गरिएको छ ।
सिकार एजेन्सीहरुबीच प्रतिस्पर्धा नभएपछि पछिल्लो याममा सिकार दस्तुर ह्वात्तै घटेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका कारण नै राजस्वको दर घटबढ हुने गरेको छ ।
अहिले चालु सिकार याम (फागुन–वैशाख)मा विभिन्न देशका गरी ११ सिकारी ढोरपाटनमा सिकारका लागि आइपुगेका छन् । प्रत्येक याममा १३ नाउर तथा ६ झारलको सिकार अनुमति दिने गरिएको छ ।
‘सिकार एजेन्सीबीचमा प्रतिस्पर्धा हुँदा दस्तुर पनि बढ्छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सीहरु छानिने गर्छन्’–अधिकृत बरालले भने ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले असोज–मंसिर र फागुन–वैशाख गरी दुईयामका लागि सिकार खुल्ला गर्ने गरेको छ ।
बर्सेनि ढोरपाटनमा सिकारी पठाउँदै आएका ग्लोवल सफारी प्रालिका शम्शेर पराजुली बर्सेनि दोस्रोयाममा प्रतिस्पर्धा कम हुने बताउँछन् ।
‘असोज–मंसिरको तुलनामा यो याममा सिकारीको कम रुचि हुन्छ’–उनले भने ।
सिकार खेल्न अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका, नर्वेलगायत देशबाट सिकारी ढोरपाटन पुग्छन् । सिकारबाटमात्रै वार्षिक करिब रु एक करोड राजस्व संकलन हुने गरेको छ ।
अहिले नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्र्याक एन्ड टेल्र्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फत् सिकारी यहाँ आएका छन् ।
आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लकमा सिकार खेल्ने गरिन्छ ।
साहसिक यात्रा र रोमान्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्नेगरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्