
काठमाडौं, जेठ ३ । प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यबारे अध्यापन गर्न पाठ्यक्रममा समावेश गरिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन् ।
चौथो मातृभाषा पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले स्थानीय मातृभाषा प्रयोगका लागि स्थापित नेपालभाषा डेक्स प्रभावकारी बनाइने बताए ।
धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको अवसर तथा ९४ वर्षअघि राणाकालमा उनले सम्पादन र प्रकाशन गरेको ‘बुद्धधर्म व नेपालभाषा’ प्रत्रिकाबाट नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको मानिन्छ ।
यही योगदानको स्मरण गर्दै मातृभाषा पत्रकारिता दिवस मनाउन थालिएको हो ।
नेवाः पत्रकार राष्ट्रिय दबू र मां भाय् पुचःले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले धर्माचार्यको योगदानको चर्चा गर्दै मिडिया काउन्सिल विधयेकविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधयेक तत्कालै फिर्ता लिनुपर्ने भन्दै राज्यले धर्मादित्य धर्माचार्यको योगदानको कदर गर्नुपर्ने भनाइ राखे ।
आयोजक संस्थामध्ये एक मां भाय् पुचःका अध्यक्ष हेरारत्न शाक्यले आफ्नो संस्थाले धर्मादित्य धर्माचार्यको योगदानको प्रचारकै लागि विभिन्न कार्यक्रम तथा पुरस्कार स्थापना गरेको बताए ।
पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यले स्वागत गर्दै जनप्रतिनिधि आएपछि स्थानीय तहले मातृभाषा प्रयोगमा प्राथमिकताको आशा पूरा नभएको उल्लेख गर्दै देश र जनताप्रति योगदान गरेका ललितपुर नगरबासीको खोजी, अध्ययन र सम्मान गर्न कन्जुस्याइँ नगरियोस् भनी ध्यानाकर्षण गराए ।
धर्मादित्य धर्माचार्यको परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको सो कार्यक्रम धर्मादित्य धर्माचार्यको सालिक तथा फोटोमा माल्यार्पणबाट सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्