२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


फिदिमवासी एकहप्ता देखि अन्धकारमा


0
Shares

पाँचथर, वैशाख ८ । पाँचथरको फिदिम नगरपालिका–७ र ८ वडामा विद्युत् अवरुद्घ हुँदा त्यस भेगका स्थानीय एक हप्तादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

हावाहुरीले एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा त्यस भेगका १६० घरधुरी अहिले अन्धकारमा बस्न बाध्य भएका हुन् । सेवा बन्द भएपछि पटक पटक निर्माण गर्दा पनि सेवा सञ्चालन हुन नसक्दा सो वडाका सयौँ सेवाग्राही अन्धकारमा बस्नु परेको स्थानीयवासी अशोक तुम्बापोले बताए ।

विद्युत् सेवा अवरोधले गर्दा स्थानीयवासीले मोबाइल चार्ज, विद्युतीय मेसिन प्रयोग गर्न नपाएको तथा आफन्तजनसँग सम्पर्क विच्छेद भएको सेवाग्राहीले गुनासो गरेका छन् । इलाम विद्युत् प्राधिकरणले फिदिम नगरपालिका–६, ७ र ८ मा २५ केभी प्रसारण लाइन वितरण गरी सो क्षेत्रमा विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।

विद्युत् उपभोक्ता समितिका अध्यक्ष देवी तुम्बापोका अनुसार ट्रान्समिटरको भित्री तार जलेका कारण विद्युत् सेवा अवरुद्ध हुन पुगेको हो । फिदिम विद्युत् प्राधिकरणबाट प्राविधिक झिकाई निर्माण गर्न खोजिए पनि हालसम्म बन्न नसकिरहेको उनले बताए ।

फिदिम साना जलविद्युत् केन्द्र सञ्चालन परियोजनाले भने बिग्रिएको ठाउँमा मर्मत भइराखेकाले सेवा पुनः सुरु हुन अझै केही दिन लाग्ने बताएको छ । (रासस)