
काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एन्ड ज्वेलरी धेरै सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा परेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले यो क्षेत्रलाई माथि उकास्न सरकार लागिपरेको बताए ।
खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आयोजना गरेको तीन दिने अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी प्रदर्शनीको आज उद्घाटन गर्दै उनले यो क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताए ।
नेपालमै रहेको फलाम, सुनलगायतका वस्तुको उत्खननका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट नै व्यवस्था गरेको उनले बताए । यो क्षेत्रको विकास गर्न सकिने र त्यसका लागि सरकारले पनि सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
विभागका महानिर्देशक सोमनाथ सापकोटाले आगामी दशक खानी, चुन, सुन, पेट्रोलियम पदार्थको अन्वेषण गर्ने दशकको रुपमा लिइएको बताए ।
महासंघका अध्यक्ष रमेश महर्जनले तीन दिने मेलामा रत्न तथा पत्थरको निर्यात एवं प्रवर्द्धनसम्बन्धी सेमिनार पनि हुने बताए । मेलामा नेपाली पत्थरसहित सुन, चाँदी, जेम तथा रक र मिनरल्स लगायत ६० वटा अवलोकन कक्ष राखिएको छ ।
काठमाडौंस्थित विभागको कार्यालय लैनचौरमा आयोजित प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्