२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


पर्यटन क्षेत्रबारे नकारात्मक प्रचारबाजी हटाउन सरकारलाई आग्रह


0
Shares

काठमाडौं, वैशाख ८ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्रबारे अन्तर्राष्ट्रियजगत्मा नकारात्मक प्रचारबाजी भएको भन्दै त्यसलाई हटाउन सरकारले तत्काल कूटनीतिक पहल थाल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

पर्यटन क्षेत्रमा पुगेको क्षतिभन्दा नकारात्मक प्रचारले पर्यटन क्षेत्र अप्ठेरोमा परेको उनीहरुको गुनासो थियो ।

विनाशकारी भूकम्प २०७२ को वर्षगाँठ पारेर राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा पर्यटन क्षेत्रसम्बद्ध व्यक्तिहरुले बीबीसी, सीएनएनजस्ता सन्चारमाध्यममार्फत् नेपालको प्रचार–प्रसार थाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले आगामी वर्षभित्र नेपालमा भूकम्पअघिकै संख्यामा पर्यटक ल्याउने योजनाकासाथ प्रचार–प्रसार थाल्नुपर्ने बताए ।

त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले भूकम्पपछि पनि करिब तीन सयजनाले सगरमाथा आरोहणको अनुमति लिएको भन्दै पर्वतीय पर्यटनका लागि यो सन्तोषजनक विषय भएको धारणा राखे ।

त्यसैगरी, एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल, टानका अध्यक्ष चन्द्र रिजाललगायतले पछिल्लो दुई महिनायता पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको बताए ।