
काठमाडौं, वैशाख ८ । इन्धनलगायत अत्यावश्यक वस्तुहरुको आपूर्ति सामान्यीकरण हुनेक्रम जारी रहेसँगै आर्थिक गतिविधि सकारात्मकतर्फ उन्मुख हुनुकासाथै मूल्य बृद्धिदरमा कमी आउन थालेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको आठौं महिना फागुनसम्मको आर्थिकस्थिति सार्वजनिक गर्दै भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणकार्यको तीव्रतासँगै अर्थतन्त्रले गति लिने अनुमान गरेको हो ।
प्रमुख हिउँदेबालीहरुमध्ये गहुँको उत्पादनमा केही कमी आउने देखिएता पनि बेमौसमी तरकारी र मकैको उत्पादन केही बृद्धि हुने अनुमान गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता हुनुकासाथै सरकारको स्रोत परिचालन सन्तोषजनक रहेको र विप्रेषण आप्रवाहमा विस्तार भइरहेकोले समष्टिगत् मागमा विस्तार आउने र सोले आर्थिक गतिविधिमा बृद्धि ल्याउने अपेक्षा केन्द्रीय बैंकको छ ।
यस्तै, क्रमिकरुपमा सुधारोन्मुख रहेको उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको उच्चबिन्दू १२.१ प्रतिशतबाट फागुनमा १०.२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
सीमा नाकाहरुको अवरोध सहज हुँदै गएबाट इन्धनलगायत उपभोग्य वस्तुहरुको आपूर्ति सामान्यीकरण हुँदै गएकोले पुसदेखि मुद्रास्फीति ओरालो लाग्नेक्रममा रहेको हो ।
यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मूल्य सूचकांक बृद्धिदर १०.३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकांक बृद्धिदर १०.२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य ३१.६ प्रतिशत र घ्यू तथा तेलको मूल्य १८.८ प्रतिशतले बढेको जनाइएको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले बृद्धि भइ ४२७ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४ प्रतिशतले बृद्धि भएको थियो ।
विप्रेषण आप्रवाहमा भएको बृद्धिका कारण खुद ट्रान्सफर आय १९ प्रतिशतले बृद्धि भइ रु. ५०० अर्ब ६० करोड पुगेको छ । तर, विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभावपार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा भने कमी आएको छ ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२/७३ को आठ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्