१९ श्रावण २०८२, सोमबार | Tue Aug 5 2025


विद्युत् अनियमित हुँदा सर्लाहीवासीलाई समस्या


0
Shares

सर्लाही, जेठ ३ । चर्को गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्लाहीवासी समस्यामा परेका छन् । छिनछिनमै विद्युत् कटौती भइरहने र भोल्टेज नआउने समस्याले जिल्लावासी हैरान भएका हुन् ।

बढ्दो गर्मीको समयमा पटकपटक विद्युत् अवरुद्ध हुँदा थप गर्मीको मारमा परेको र विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो छ । सर्लाहीको उत्तर क्षेत्रस्थित हरिपुर सवस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा बत्ती गइरहने र मलंगवा वितरण केन्द्रमा भोल्टेज नआउने समस्या देखा परेको हो ।

विद्युत् प्रवाहमा आएको यो समस्याले बिजुलीबाट चल्ने व्यापार व्यवसाय, उद्योग, कलकारखाना पनि प्रभावित भएका छन् । नेपाल विद्युत् प्राविधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले नवलपुरको पुनर्वास क्षेत्रमा कागले अन्य ठाउँबाट तार ल्याएर बिजुलीको तारमा खसाल्दा केही समस्या देखिएको भए पनि मर्मत गरिसकिएको बताए ।

तर पनि यस क्षेत्रमा बत्ती जाने समस्या भने रोकिएको छैन ।

प्राधिकरणको मलंगवा वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले गर्मीमा विद्युतीय उपकरण धेरै सञ्चालन भइरहेकाले ओभर लोडका कारण भोल्जेटको समस्या देखिएको बताए । यो मौसममा पंखा, फ्रिज, कुलरजस्ता उपकरण धेरै सञ्चालन हुने भएकाले विद्युत् प्रवाहमा समस्या आउने गरेको प्राविधिकहरुले बताएका छन् ।