
काठमाडौं, वैशाख १० । सशस्त्र प्रहरी समूह विजेता बन्दै ललितपुरको सातदोबाटोमा जारी महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा प्रवेश गरेको छ ।
समूहको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबसँग १–१ गोलको बराबरी खेलेको सशस्त्रले गोल अन्तरका आधारमा आर्मी पछाडि पार्दै समूह विजेता बनेको हो ।
सशस्त्रले समूहको खेलमा ३१ गोल गर्दा आर्मीले गोल संख्यालाई ३० पुर्याउन सक्यो ।
शुक्रबार भएको खेलको २३औं मिनेटमा दीपा राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाएपनि ७७औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै सशस्त्रलाई बराबरी दिलाइन् ।
अब सुपर लिगका खेलहरु मंगलबारदेखि हुनेछन् । पहिलो खेलमा समूह समूह ‘ए’को विजेता नेपाल पुलिस क्लबले समूह ‘बी’को उपविजेता आर्मीसँग तथा दोस्रो खेलमा सशस्त्रले पूर्वाञ्चलसँग खेल्नेछन् ।
पाँच विकास क्षेत्र र तीन विभागीय गरी आठ टिम सहभागी प्रतियोगितामा विभागीय टोली अब्बल ठहरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्