
सिबी अधिकारी
काठमाडौं, वैशाख ११ । वि.सं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भएपनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आ–आफ्नै ध्याउन्नमा थिए ।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्निच्यूडको भूकम्प गयो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए ।
हजारौं घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दू बनाइ गएको उक्त भूकम्प नेपालीका लागि ‘कालोदिन’ बन्यो ।
त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ ।
वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ म्याग्निच्यूड र त्यसभन्दा माथिका ४४९ परकम्प आएका छन् ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीकाअनुसार नेपालमा वि.सं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।
नेपालमामात्र हैन, यसबीचमा छिमेकीमुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ म्याग्निच्यूडका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पसम्बन्धी विश्वका तथ्यांक हेर्दा हरेक वर्ष औसतमा एकओटा ८ म्याग्निच्यूडभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ म्याग्निच्यूडका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ म्याग्निच्यूडसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।
भूकम्प मापन केन्द्र आफैं घाइते
नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एकमात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैं घाइते अवस्थामा छ ।
पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीकाअनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले ६ जनामा सीमित छ ।
वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ ।
‘नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका ६ जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ’–अधिकारीले भने ।
देशभर हाल भूकम्पबारे जानकारी संकलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् ।
भूगर्भविद् डा. सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिंगापुरलगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताए ।
नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो ।
भूकम्पको इतिहास
वि.सं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । वि.सं २०४५ मा उदयपुर केन्द्रबिन्दू बनाएर ६.७ म्याग्निच्यूडको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।
संखुवासभा केन्द्रबिन्दू बनाएर १९९० सालमा गएको ८.३ म्याग्निच्यूडको महाभूकम्पबाट नेपालमा ८ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै संख्यामा भारतको बिहारमा क्षति भएको थियो ।
संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ म्याग्निच्यूडको गएको थियो ।
हालसम्म संसारमा ९ म्याग्निच्यूडभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चारओटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् ।
भूकम्प कसरी ?
भूगर्भविद्काअनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ ।
त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ । त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भइ खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायीरुपमा उचाइ बृद्धि हुन प्रयोग भइ भूकम्प जाने गर्छ ।
सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमारसम्म पृथ्वीको भूखन्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।
ऐतिहासिकरुपमा हेर्दा नेपालमा वि.सं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ ।
विगतका भूकम्पको तथ्यांक हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताए ।
त्यस्तै, पश्चिमाञ्चल क्षेत्रमा वि.सं १५०५ मा ठूलो भूकम्प गएको थियो । भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।
यसैबीच, भूकम्प मापन केन्द्रले काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्यांक लिने काम सकिएको जनाएको छ ।
यसबाट काठमाडौंमा अब आउने ठूला भूकम्पले कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ । रासस
प्रतिक्रिया दिनुहोस्