
काठमाडौं, वैशाख ११ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज गरेको छ ।
थापाले पदीय दुरुपयोग गरेको भन्दै फिफाले गत कात्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका थिए ।
फिफाको इथिक्स कमिटीले थापाको प्रतिबन्धविरुद्धको अपील खारेज गरेको हो ।
यो खारेजीसँगै राप्रपा नेपालका तर्फबाट सांसदसमेत रहेका गणेश थापा तत्काल फुटबलमा फर्कने सम्भावना सकिएको छ ।
थापाको अपीललाई फिफाले पूर्णरुपमा खारेज गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दबाब भएको छ । अख्तियारले प्रमाण नपुगेको भन्दै थापाको मुद्दा तामेलीमा राखेको थियो ।
फिफाले १० वर्षे प्रतिबन्ध लगाउने समयमा गणेश थापामाथि झन्डै २१ लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।
दुई दशक फुटबलको नेतृत्व सम्हालेका थापा अन्तर्राष्ट्रिय फुटबलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी हुन् ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्