२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


११ बजेर ५६ मिनेटमा उडाइयो बेलुन (भिडियो रिपोर्ट)


0
Shares

चन्द्र पाठक/राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख ११ । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण हजारौंको ज्यान गयो । कयौं घाइते भए ।

त्यो दिनलाई धेरै नेपालीले ‘कालोदिन’कोरुपमा लिने गरेका छन् । भूकम्पको एक वर्ष पुग्नै लाग्दा शनिबार काठमाडौंको बसन्तपुरमा भेला भएर हजारौंले भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झना गरेका छन् ।

२०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पको सम्झना गर्दै शनिबार बसन्तपुरमा भेला भएका हजारौंले बेलुन उडाए ।

दिउँसो ११ बजेर ५६ मिनेट जाँदा नेवारीबाजा बजाएपछि उपस्थित सबैले आ–आफ्नो हातमा रहेका बेलुन आकाशमा छोडेर मृतात्माको शान्तिको कामना गरे ।

उपस्थित व्यक्तिहरुले ब्यानरमा सन्देशसहित हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा विभिन्न धर्म, समुदायका प्रतिनिधिलगायत भूकम्पको समयमा अहोरात्र खटिएर प्रभावितहरुको सहयोगमा जुटेका सुरक्षा निकायका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममार्फत् नै सहभागीहरुले पुनःनिर्माणको काम चाँडो सकेर विश्वमा राम्रो सन्देश दिनुपर्ने बताएका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगयतको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा उपस्थित सबैले अब फेरि वैशाख १२ को दिन फेरि कहिल्यै नदोहोरियोस् भन्ने कामना गरेका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।