
काठमाडौं, वैशाख ११ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाको अपील खारेज गरेको छ ।
थापाले पदीय दुरुपयोग गरेको भन्दै फिफाले गत कात्तिक २३ गते १० वर्षसम्म फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसपछि थापाले फिफामा अपील गरेका थिए ।
फिफाको इथिक्स कमिटीले थापाको प्रतिबन्धविरुद्धको अपील खारेज गरेको हो ।
यो खारेजीपछि थापाले आफू फिफाको यो निर्णयले दुःखी भएको भन्दै अब कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस् (क्यास)मा जाने जनाएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै थापाले क्यासबाट आफूले न्याय पाउनेसमेत विश्वास व्यक्त गरेका छन् ।
राप्रपा नेपालका तर्फबाट सांसदसमेत रहेका गणेश थापा तत्काल फुटबलमा फर्कने सम्भावना भने सकिएको छ ।
थापाको अपीललाई फिफाले पूर्णरुपमा खारेज गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दबाब भएको छ । अख्तियारले प्रमाण नपुगेको भन्दै थापाको मुद्दा तामेलीमा राखेको थियो ।
फिफाले १० वर्षे प्रतिबन्ध लगाउने समयमा गणेश थापामाथि झन्डै २१ लाख रुपैयाँ जरिवानासमेत गरेको थियो ।
दुई दशक फुटबलको नेतृत्व सम्हाल्नेक्रममा विवादमा आएपनि थापा खेलाडी जीवनमा भने सफल मानिन्छन् ।
थापा अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी हुन् ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्