काठमाडौं, जेठ २ । राजधानीमा जारी पहिलो एसिया कप ह्विलचियर ट्वेन्टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसित ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १४९ रनको चुनौती बंगलादेशले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा मोहमद रिपोन उडिनले ५० रन बनाए ।
नेपालका कप्तान दिगमसिंह चेम्जोङ र सुपर राईले १/१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै १४८ रन बनाएको थियो ।
होमनाथ राईले ३६ तथा अलराउन्डर कप्तान चेम्जोङले ३५ रनको योगदान दिएका थिए ।
यो हारसँगै अंकविहीन नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । पहिलो खेलमा नेपालले बुधबार भारतसित ६ विकेटको हार व्यहोरेको थियो ।
लिग चरणको अन्तिम खेलमा नेपालले शुक्रबार पाकिस्तानसित खेल्नेछ ।
चार टोली सहभागी प्रतियोगितामा अंकतालिकाका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल खेल्नेछन् ।








प्रतिक्रिया दिनुहोस्