
गृष्मा राजभण्डारी, कुमार थापा र सुयेश मानन्धर (इमेज)
काठमाडौं, जेठ २ । समाज सेवा गर्ने बहानमा बालगृहदेखि वृद्धाश्रमसम्म सन्चालन गर्ने कुरा नेपालमा नौलो होइन ।
तर, पछिल्लो समय यस्ता काम गर्नेहरुको उद्देश्य भने सेवाभन्दा आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ केन्द्रित हुने गरेको छ ।
काठमाडौंको सुकेधारामा एक महिलाले सन्चालन गर्दै आएको बालगृहमा प्रहरीले छापा मार्दा बालबालिकाहरुलाई बिजोग अवस्थामा राखेको पाइयो ।
सुकेधारास्थित ऐश्वर्य बालगृह । निर्मला घिमिरे नाम गरेकी एक महिलाले सन्चालन गर्दै आएको यस बालगृहमा प्रहरी र केन्द्रीय बालकल्याण समितिले बुधबार छापा मारेको हो ।
जहाँ विकट जिल्लाहरु हुम्ला, डोल्पा, रसुवा र नुवाकोटका ११८ जना बालबालिकालाई ज्यादै नाजुक अवस्थामा राखिएको थियो ।
भोकले बोल्नसमेत नसक्ने अवस्थामा यी बालबालिकाहरुको शरीरभरि खटिरा र घाउैघाउ रहेको छ ।
टेलिभिजनको क्यामेरा देख्नासाथ बर्बरी आँसु झारेका यिनीहरुको अवस्थाले पनि बताउँछ, बालगृहभित्रको पीडा ।
६ जना कर्मचारी राखेर सन्चालन गरिएको यस बालगृहका बालबालिकालाई विद्यालय भर्ना त गरिएको छ तर उचित खानपान र स्वास्थ्य उपचारको भने मतलबै नगरिएको प्रस्ट देखिन्छ ।
एक विदेशी नागरिकले बालबालिकाको दयनीय अवस्था देखेर प्रहरी र बालबालिका खोज केन्द्रमा खबर गरेपछि प्रहरी उद्धारका लागि गएको हो ।
ती विदेशीले कतिपय बालबालिकाका अभिभावकलाईसमेत खबर गरेका रहेछन् । जो बुधबार नै छोरा–छोरी भेट्न भन्दै बालगृह पुगेका थिए ।
बालगृहमा छोरा-छोरी राखिदिएवापत ३५ हजारदेखि एक लाख रुपैयाँसम्म अभिभावकले बुझाएको पनि पाइयो ।
छोरा–छोरीको भविश्य राम्रो होला भनेर जसोतसो पैसा जुटाएर पठाएको तर अहिले बिजोग अवस्थामा देख्दा मन कुँडिएको बताउँछन्, अभिभावकहरु ।
हुम्ला, सिमकोटका गोविन्द रावत र उनकी श्रीमती जस्मीत रावतले आफना ६ र ४ वर्षका छोरा–छोरीलाई बालगृहमा राखेवापत बिनापारिश्रमिक कर्मचारी बनेको पनि पाइयो ।
यस बालगृहकी सन्चालक निर्मला घिमिरे भने अहिले स्वास्थ्य उपचारकाक्रममा अस्पतालमा रहेको र उनी प्रहरीको निगरानी रहेका छन् ।
बालगृहमा रहेका बालबालिकालाई प्रहरीको रोहबरमा नाम दर्ता गराइ विभिन्न संघ–संस्थाले लगेका छन् ।
आफू बस्दै आएको बालगृहबाट उद्धार गर्नेक्रममा बालबालिकाबीच त्रास फैलिनुका साथै रुवाबासी चलेको थियो ।
कतिपयले आफूहरुलाई जबर्जस्ती कतै लग्न लागेको भन्दै जान अस्वीकारसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्