
-दिपक घिमिरे/ईमेज
भैरहवा । भगवान गौतम बुद्धको अस्तुधातु रहेको ऐतिहासिक धार्मिकस्थल नवलपरासीको रामग्राम स्तुपलाई बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्षले अहिलेसम्म छुन सकेको छैन् ।
बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्षका लागि लुम्बिनी विकास कोष तथा प्रदेश ५ सरकारले करोडौ रकम खर्च गरेपनि त्यो खर्च रामग्राममा अहिलेसम्म पुग्न सकेको छैन् ।
बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण बर्ष २०७६ को औपचारिक शुभारम्भ यही जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
तर बुद्ध जयन्ती तथा भ्रमण बर्षको औपचारिक शुभारम्भ हुनु दुई दिन अगाडिसम्म रामग्राम सुनसान छ । रामग्राम जाने बाटो धुलाम्मे छ ।
स्तुपाभित्र कोषबाट खटिएका दुई जना सुरक्षा गार्ड र ४/५ जना स्थानीय युवा बाहेक कोही देखिँदैनन् ।
प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्धसँग सम्बन्धित स्थानको विकास, र प्रचारप्रसारमा लाखौ खर्च गरिसकेको छ ।
सातै प्रदेशमा पुगेर लुम्बिनी भ्रमणको निम्तो दिँदै हिडेको प्रदेश सरकारले रामग्राममा एउटा प्रचारात्मक व्यानरसमेत राख्न सकेको छैन् ।
भगवान बुद्धको आठ ठाउँमा राखिएको अष्टधातुमध्येको एक स्थान रामग्राम संरक्षण र प्रवद्र्धनकोे अभावमा ओझेलमा परेको स्थानीयको गुनासो छ ।
रामग्रामको विकासका लागि गुरुयोजना निर्माण, त्यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहलेसमेत चासो नदेखाएको स्थानीय राधेरमण पाण्डेयको गुनासो छ ।
प्रदेश सरकार र लुम्बिनी विकास कोषले रामग्रामको उपेक्षा गरेको प्रदेश सभा ५ का सांसद बैजनाथ कलवारको आरोप छ ।
उहाँले लुम्बिनी भ्रमण वर्ष तथा बुद्ध जयन्तीका लागि निकै तामझाम साथ कार्यक्रम गर्न लागिए पनि रामग्राममा भने कुनै कार्यक्रम नगरिएको र वर्षमा एक दिन झारा टार्ने काम मात्रै गर्ने गरेको बताउँछन् ।
माटोको ठुलो ढिस्कोले चिनिने रामग्राम स्तुप पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो ।
किंवदन्तीअनुसार यो स्तुप भगवान बुद्धको महापरिनिर्वाण पछि गरिएको अन्त्येष्टिपछि बचेको अस्तु कलशमा राखेर बनाइएको हो । यो क्षेत्र संरक्षण र सम्बद्र्धनको पर्खाइमा छ ।
प्रतिक्रिया दिनुहोस्