
झापा । जिल्ला कारागार झापामा सुरक्षाका लागि खटिएका एक प्रहरीको इटालियन पेस्तोल सहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएकोे छ ।
सुरक्षामा खटिएका एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाए पनि प्रहरी भित्रैबाट पेस्तोल हराएको घटना सार्वजनिक भएको हो ।
प्रहरी जवान कुमार भोटेलाई सुरक्षामा खटिने एक जवानले पेस्तोल जिम्मा दिएको प्रहरीको रेकर्डमा उल्लेख छ ।
तर पेस्तोल र १४ राउण्ड गोली भने बुझाएको समयदेखि प्रहरी भित्रैबाट गायव भएको छ ।
बुझाउने प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरी नायव निरीक्षक नरेश आचार्य एक साताअघि घर बिदामा गएका बेला कारागारको सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई दिइएको थियो ।
सोही समयदेखि पेस्तोल र गोली हराएको प्रहरीले बताए पनि कुन दिनदेखि हरायो प्रहरी स्वयं अनविज्ञ छ ।
कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्