
काठमाडौं, वैशाख १४ । सरकारले यही वैशाख २१ गते व्यवस्थापिका–संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता शेरधन राईले मन्त्रिपरिषदको मंगलबारको बैठकपछि दिँदै सो दिन बिहान ११ बजे संसदको आउँदो बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले सशस्त्र प्रहरी बलका कामु महानिरीक्षक दुर्जकुमार राईलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेकोे छ ।
सूचना तथा सन्चारमन्त्री राईले ‘गोरखापत्र’को ११६औं वार्षिकोत्सवका अवसरमा सो पत्रिकाको पहिलो अंकको सांकेतिक चित्रअंकित रु दुई हजारदरका दुई हजारथान प्रति २५ ग्रामका चाँदीका स्मारिका सिक्का निष्काशन गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
बैठकले झुटो विवरण पेस गरी रुपन्देही जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने भारतीयहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतीशकुमार मिश्रको नागरिकताको प्रमाणपत्र रद्द गरी निजहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ ।
सो बैठकले गरिब घरपरिवार सहयोग समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा स्याङ्जाका जनकलाल तिवारीलाई नियुक्त गर्ने, राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने तथा राष्ट्रिय युवा परिषद्को आव ०७२/७३ सम्मका लागि संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल सरकारका १२ सहसचिवको पदस्थापन गरिएको छ । तीमध्ये सोमराज कोइराला, सुमन दाहाल, नारायणप्रसाद सापकोटा, जितेन्द्र बस्नेत र शिवराम न्यौपानेलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा, हरिराम शर्मालाई अर्थ मन्त्रालयमा तथा झलकराम अधिकारी, यमलाल भुसाल, यज्ञराज कोइराला, बलराम रिजाल र ईश्वर पौडेललाई अतिरिक्त समूहमा राख्ने निर्णय गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्