
काठमाडौं, जेठ १ । काठमाडौंको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका ५० भन्दा बढी बालबालिकाको बुधबार उद्धार गरिएको छ ।
विभिन्न जिल्लाहरुबाट ल्याएर राखिएका बालबालिकाको दयनीय अवस्था देखेपछि एकजना विदेशीले प्रहरीमा सूचना दिएपछि बुधबार केन्द्रीय बालकल्याण समिति र प्रहरी प्रभाग महाराजगन्जले छापा मारेर उद्धार गरेको हो ।
उद्धार गरिएका बालबालिकाहरुमा हुम्ला, जुम्ला, डोल्पा, रसुवा र नुवाकोटका ४ देखि १० वर्षसम्मका रहेका छन् ।
निर्मला घिमिरेले सन्चालन गर्दै आएको यस बालगृहका अधिकांश बालबालिकाको स्वास्थ्यस्थिति नाजुक रहेको छ ।
बालगृह सन्चालन गर्ने निर्मला घिमिरे भने फरार रहेकी छन् ।
उनका छोरा प्रमोदराज घिमिरेले भने बालबालिकाकालाई सकेसम्म सुविधा दिएर राखेको दाबी गरे ।
उद्धारकर्मीसँगै गएका केही बालबालिकाका अभिभावकहरुले छोराछोरी राखेवापत ३५ हजारदेखि एक लाख रुपैयाँसम्म बालगृहलाई दिएको बताएका छन् ।
अरु बालबालिकाले पनि बाबु–आमालाई भेट्ने र उनीहरुसँगै बस्ने इच्छा रहेको बताएका छन् ।
उद्धार गरिएका बालबालिकालाई केन्द्रीय बालकल्याण समितिले जिम्मा लिएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्