बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ १ । सुदूरपश्चिम प्रदेशसभाको वर्से अर्थात् बजेट अधिवेशन बुधबारदेखि सुरु भएको छ ।
गएको वैशाख १२ गते अन्त्य भएको अधिवेशन बुधबारदेखि सुरु भएको हो ।
दिउँसो ३ बजे सभामुख अर्जुनबहादुर थापाले प्रदेशप्रमुख मोहनराज मल्लको पत्र पढेर बैठक प्रारम्भ भएको जानकारी गराएका थिए ।
नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी प्रदेशसभाको बैठक आह्वान गरिएको थियो ।
चौथो अधिवेशनको पहिलो बैठकमा पाँचजना प्रदेशसभा सदस्यहरूले विशेष समयमा धारणा राखे ।
सत्तारुढ दलका तर्फबाट धारणा राख्ने प्रदेशसभा सदस्यहरुले केन्द्र सरकारले अधिकार नदिँदा समस्या भइरहेको बताए ।
केन्द्र सरकारले अधिकार केन्द्रमा जम्मा गरेर राखेका कारण संघीयता नै समस्यामा पर्ने आरोप उनीहरुले लगाए ।
सत्तारुढ दलका सांसदहरुले केन्द्र सरकारलाई दोषी देखाउँदै प्रदेश सरकारले काममा गति दिइरहेको भन्दै बचाउ गरेका थिए ।
विपक्षी दलका सांसदले भने प्रदेश सरकार एकलौटी ढंगले अघि बढेको आरोप लगाए । ‘असारे विकास’का नाममा आर्थिक अपारदर्शीता भइरहेको आरोप उनीहरुले लगाएका थिए ।
समृद्ध प्रदेश निर्माणका लागि सबै एक हुनुपर्ने भन्दै प्रतिपक्ष दलका सांसदहरुले सरकारले काममा गति नदिएको र अझै यस्तो अवस्था रहे प्रदेश सरकार पूर्णरुपमा असफल हुने धारणा राखे ।
बुधबारको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गरेकी थिइन् ।
प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो ३ बजे आह्वान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्