
काठमाडौं, वैशाख १५ । साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृतरुपमा पक्राउ गरेको भन्दै नागरिक अधिकारकर्मीहरुले रिहा गर्न माग गरेका छन् ।
बुधबार राजधानीमा सामूहिकरुपमा कार्यक्रम गरी उनीहरुले ‘नागरिक स्वतन्त्रतामाथि अख्तियारले अनावश्यक अतिक्रमण गरेको’ भन्दै त्यो रोक्नुपर्ने माग गरे ।
‘लोकतान्त्रिक शासन व्यवस्थाकै उपहास हुने गरी कनकमणिलाई पक्राउ गरिएको’ उनीहरुको जिकिर थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले अख्तियारको पछिल्लो क्रियाकलाप परिपक्क नदेखिएको बताए ।
वकिललाई अख्तियारको रोक
यसैबीच, अख्तियारको निगरानीमा वीर अस्पतालमा उपचार गराइरहेका दीक्षितसँग बुधबार उनका वकिलहरुलाई भेट्न अख्तियारले रोक लगाएको छ ।
विशेष अदालतले वकिलसँगको भेटघाटका लागि रोक नलगाउन अख्तियारलाई आदेश दिएपनि अख्तियारले वकिलहरु टिकाराम भट्टराई र रमेश बडाललाई दीक्षितसँग भेट्न नदिएको हो ।
प्रतिक्रिया दिनुहोस्