३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


सहायकमन्त्री लामाको सपथ, प्रधानमन्त्रीले भने–‘कांग्रेस सांसदले मौसमी राजनीति गरे’


0
Shares

काठमाडौं, वैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशमबहादुर लामालाई बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आग्रहमा विराज विष्टलाई निलम्बन गरिएपछि लामालाई उक्त पदमा नियुक्त गरिएको हो ।

सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाकासाथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी गरे ।

उनले अघिल्लो सरकारले नै चार किस्तामा रकम दिने तय गरेकामा हाल तीन किस्तामा वितरण सुरु भएको जानकारी दिँदै यथार्थमा उभिएर राजनीति गर्न दलहरुलाई आग्रह गरे ।

उनले अघिल्लो प्रधानमन्त्रीले साढे दुई महिनाको अवधिमा चिया, खाजा र भेटघाटमा रु दुई करोड ७४ लाख खर्च गरेको तर आफूले सात महिनामा रु ८४ लाखमात्र खर्च गरेको दाबी गर्दै सन्चारमाध्यमलाई त्यसतर्फ ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले पञ्चायत र लोकतान्त्रिककालमा पनि उही व्यक्ति र प्रवृत्ति (उपप्रम कमल थापा) भन्ने टिप्पणीप्रति लक्ष्य गर्दै समय र परिस्थितिअनुसार व्यक्ति र प्रवृत्तिमा पनि परिवर्तन आएको बताए । रासस

फाइल फोटो