३१ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025


दीक्षितलाई गैरकानुनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, वैशाख १५ । आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी छन् ।

साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपुर्‍याइ स्वेच्छाचारी ढंगले बिना कुनै निर्णय गैरकानुनीरुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लिखित छ ।

कनकमणि दीक्षितका तर्फबाट उनकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाइ रिट दायर गरेकी हुन् ।

यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो ।

अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।

दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबीसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनकोक्रममा पत्ता लागेको अख्तियारको दाबी छ । रासस