
जुम्ला, वैशाख १६ । कर्णाली यातायात व्यवसायी संघ जुम्लाले अनिश्चितकालीन कर्णाली राजमार्ग बन्द गराएको छ ।
यातायात सञ्चालन गर्ने विषयमा व्यवसायीहरुबीच विवाद भएपछि संघले बुधबारदेखि राजमार्ग बन्द गराएको हो । संघले कर्णाली राजमार्गमा चन्दननाथ यातायात प्रालिले सेवा सञ्चालनमा गरेको करारनामा कीर्ते भएको भन्दै छानविन गर्न माग गरेको छ ।
चन्दननाथ प्रालिले अवैधानिक रुपमा राजमार्गमा बस सञ्चालन गर्न नमिल्ने उसको भनाइ छ । संघले प्रक्रिया नपुगेसम्म राजमार्ग अवरुद्ध कायम राख्ने चेतावनी पनि दिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वपक्षीय बैठकले वैशाख १७ गतेदेखि चन्दननाथ यातायात प्रालिले बस सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । राजमार्ग बन्द भएपछि हजारौं यात्रु विचल्लीमा परेका छन् ।
यता चन्दननाथ प्रालिले भने सर्वपक्षीय बैठकको निर्णयअनुसार नै १७ गतेदेखि राजमार्गमा बस सञ्चालन गर्ने जनाएको छ । उसले आफूहरुले गरेको कागजात कीर्ते नभएको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्