२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


जन्मदिनको भोज खाँदा एकको मृत्यु, ४९ जना बिरामी


0
Shares

नुवाकोट, वैशाख १६ । नुवाकोटको काहुलेमा जन्मदिनको भोज खाएका एक जनाको ज्यान गएको छ । भोज खाने थप गाउँले बिरामी भएका छन् ।

काहुले–६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएका ५० जना गाउँले बिरामी भएका हुन् । बिरामीमध्ये काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा बुधबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि बिरामी पर्न थालेका हुन् । बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो ।

अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत बिरामीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासु, रक्सी सेवन गरेको र भोज भएको घरमा बाँकी भएको परिकारसमेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

कुन खाद्य परिकारमा कुन विषादीका कारण बिरामी भएका हुन् भन्ने अझै खुलेको छैन । (रासस)