
बीरगंज, वैशाख १६ । नेपाल र भारतबीच पछिल्लो समय त्यति राम्रो सम्बन्ध देखिएको छैन । नेपालमा संविधान जारी भएपछि मधेसवादी दलहरुले अघि सारेको मुद्दालाई आधार बनाउँदै भारतले नेपालमाथि गरेको नाकाबन्दी फिर्ता भइसक्दा पनि दुई मुलुकबीचको सम्बन्धमा सुधार आउन सकेको छैन ।
जनस्तरमा भने दुई देशबीचको सम्बन्धमा कुनै असर परेको छैन । नेपालसँग सीमा जोडिएको बिहारका सीमावर्ती क्षेत्रका बासिन्दा पछिल्लो समय नेपालको गुणगान गर्न थालेका छन् । उनीहरुले गुणगान गर्नुको कारण भने बेग्लै छ ।
बिहार सरकारले अप्रिल १ देखि राज्यमा मदिरा निषेध घोषणा गरेपछि सीमा क्षेत्रका भारतीय नागरिक मदिरा सेवन गर्नका लागि नेपाली बजारमा आउन थालेका छन् । सीमा नजिकका बजार क्षेत्रमा दैनिक आएर मदिरा पिएर उनीहरु फर्कने गरेका छन् ।
भारतीय पत्रिका ‘दैनिक जागरण’ मा प्रकाशित एक समाचार अनुसार सूर्यास्तसँगै नेपाली बजारमा भारतीय नागरिक मदिरा पिउनका लागि जाने गर्दछन् । नेपालबाट भारततर्फ मदिरा लैजान निषेध गरिएको भए पनि मदिरा पिएर जानेहरुलाई सुरक्षाकर्मीले खासै कारवाही नगरेका कारण दैनिक करिब ३०÷४० हजारको संख्यामा बिहारी नागरिक नेपाली बजारमा प्रवेश गरी मदिरा पिएर फर्कने गरेको सो अखबारले जनाएको छ ।
सो अखबारका अनुसार वर्षौंदेखि मदिरा सेवन गर्ने लत लागेका उनीहरु राज्य सरकारले मदिरा निषेध घोषणा गरेपछि साँझ पर्नासाथ बिहारमा उकुसमुकुस अनुभव गर्न थाल्छन् । नेपाली बजारमा पुगेर मदिरा सेवन गर्दै उनीहरु ‘जय नेपाल’ को नारा लगाएर फर्कने गरेको सो पत्रिकाले जनाएको छ ।
जलेश्वर, गौर, मलंगवा, वीरगंज लगायतका सीमावर्ती नेपाली बजार साँझपख भारतीय नागरिकले भरिभराउ हुने गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्