२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


जन्मदिनको भोज खाँदा मृत्यु, पचास बिरामी


0
Shares

नुवाकोट,१६ वैशाख १६ । काहुले गाविसमा जन्मदिनको भोज खाएका एक मेघबहादुर तामाङको ज्यान गएको छ ।

काहुले गाविस वडा नं ६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाएकामध्ये काहुले–८ का ३० वर्षीय मेघबहादुरको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । भोज खाने ५० गाउँले बिरामी भएका छन् ।

मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि बिरामी पर्न थालेका हुन् । बिरामीलाई बुधबार राति उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो ।

अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत बिरामीको अवस्था खतरामुक्त रहेको अस्पतालहरुले जनाएका छन् ।

भोजमा दालभात, तरकारी, कुखुरा, राँगोको मासु र रक्सी राखिएको थियो । भोज भएको घरमा बाँकी भएका परिकारहरु समेत प्रहरीले परीक्षणका लागि सदरमुकाम ल्याएको छ । कुन खाद्य परिकारमा रहेको कुन विषादीको कारण बिरामी भएको भने अझै खुलेको छैन । रासस