
डडेल्धुरा, वैशाख १७ । डडेल्धुरा सदरमुकामको प्रमुख व्यापारिक केन्द्र बागबजारमा आज आगलागी भएको छ ।
बिहान सात बजे स्थानीय मदनप्रकाश पाण्डेको घरबाट सल्किएको आगोले पाण्डेसहितसँगैको घरसमेत जलेर नष्ट भएको छ ।
आगो नियन्त्रण गर्ने क्रममा तीन जना सुरक्षाकर्मी र पाँच जना सर्वसाधारण गरी आठजना घाइतेसमेत भएका छन् ।
अमरगढी नगरपालिकाको दमकल बिग्रेकाले घटनास्थलमा दमकल पुग्न नसकेका कारण बजारको खानेपानीको पाइप काटेर स्थानीयले साढे दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । अमरगढी नगरपालिकाको दमकल उपलब्ध नभएको भन्दै स्थानीयले अमरगढी नगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
आगलागीको कारण दुई घर र दुई पसलमा पूर्ण रुपमा क्षति पुगेको छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल पुलिस, स्थानीयबासी र व्यापारीहरु जुटेका थिए । बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्