१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नेपालकै असुरक्षित मान्द्रे गाउँ, जहाँको जमिन चिराचिरा छ


0
Shares

-प्रतीक लामिछाने/भरत केसी, ईमेज

गोरखा, बैशाख १७ । गत बर्ष बैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारपाकमा परेपछि बारपाक बर्षभरी नै चर्चामा रह्यो ।

तर भूकम्पको केन्द्र विन्दू नै भने बारपाकदेखि केही तल रहको मान्द्रे गाउँ थियो जुन अहिले पनि बैशाख १२ कै सेरोफेरोबाट गुज्रिरहेको छ ।

२०७२ साल बैशाख १२ गते भूकम्प जानुअघिसम्म बारपाक मान्द्रेका स्थानीयले कल्पनै गरेका थिएनन् भूकम्पले यतिधेरै जनधनको क्षति गर्ला भनेर । मानवीय र भौतिक क्षतिमात्रै होइन, मान्द्रेको यो जमिन पनि बस्नै नमिल्ने गरी चिराचिरा परेको छ ।

सँगैको बारपाक गाउँका ५५ प्रतिशत घर निर्माण भैसक्दा पनि यहाँका करिब १ सय १० घरधुरी अहिले पनि त्रिपाल तथा टिनको टहरोमा आश्रय लिन बाध्य छन् । मान्द्रेको अधिकांश ठाउँमा जमिन धसिएको छ ।

आँखै अगाडि कुइरीमण्डल धुँवा र विस्फोटको आवाजसहित घर लडेको तथा जमिन चिरिएको एक वर्ष पुगिसकेको छ, तर स्थानीयलाई आजपनि त्यही दिनले पलपल त्राहि त्राहि बनाईरहेको छ ।

बैशाख १२ गते गएको भूकम्पको मूख्य केन्द्रविन्दु यही ठाउँ भएको र आवासीय हिसावले यो ठाउँ अत्यन्तै असुरक्षित भनेर प्रमाणित भैसक्दा पनि मान्द्रेका वासिन्दा यहाँबाट अन्यत्र जान सकेका छैनन् ।