
काठमाडौं, बैशाख १७ । महानगरीय ट्राफिक महाशाखाले नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असूल गर्ने जरिवानाको रकम २० गुणाले बढाएको छ ।
न्यून जरिवानाकै कारण दुर्घटना बढेको र चालकको जथाभावी रोक्न जरिवानाको मात्रालाई बढाएको जिकीर महाशाखाले गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब २५ रुपैयाँ जरिवाना लाग्ने गल्ती गर्नेले अब पाँच सय रुपैयाँ तिर्नुपर्ने छ भने नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्म चिट काट्न पाउने व्यवस्था गरिएको छ ।
यसअघि मादक पदार्थ सेवनमा सबैभन्दा बढी एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था थियो । जरिवानाबापत बढाइएको रकम आगामी आइतबारबाट देशभर लागू हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
नयाँ नियम अनुसार अब नियम मिच्ने जो कोही सवारी चालकले पहिलो पटकलाई ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।
पाँच पटकसम्म कारवाहीमा परेको चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्